गुनासो

बादल लाग्दैमा आज घाम अस्तायो नभन्नु बोलिन भन्दैमा तिमीसित म रिसायो नभन्नु म त सधैँ तिमीलाई नै हेर्ने गर्छु कहिलेकाहीँ आँखा झिम्काए भन्दैमा मैले भुल्न खोजे नभन्नु।

खोल्सामा पानी जम्दैमा त्यसलाई नदी नभन्नु म उनीसित नजिकिए भन्दैमा म तिम्रो होइन नभन्नु म त सधैँ तिमीलाई नै पाउने आश गर्छु कहिलेकाहीँ मेरो अँगालोमा च्यापे भन्दैमा तिम्रो स्वतन्त्रता लुटे नभन्नु।

तिमीले हेर्दा मैले हेरिन भन्दैमा मेरा आँखाहरु अर्कै तिर मोडिए नभन्नु तिमी बोल्दा म बोलिन भन्दैमा मेरा ओठहरुले तिमीलाई चाहेनन् नभन्नु म त सधैँ तिमीलाई नै माया गर्ने गर्छु कहिलेकाहीँ तिम्रो अँगालोमा म निदाए भन्दैमा मैले तिम्रो निन्द्रा खोसे नभन्नु।

तिमीले अँगालो हाल्दा मैले वास्ता गरिन भन्दैमा मैले तिम्रो माया बुझिन नभन्नु खास म तिम्रो न्यानोपन र नसालु हेराइमा लठ्ठ परेको थिए तिम्रो र मेरो तन नजिकिँदा पनि मैले टाउको फर्काए भन्दैमा मैले तिम्रो आशय बुझिन नभन्नु खास म तिम्रो ओठलाई सजिलो पार्न आफ्नो नरम गाला फर्काएको थिए।

Subscribe to Milan Newsletter

One update per week. All the latest posts directly in your inbox.