मृत्यु त भयो !
मृत्यु त भयो ! तर म छु के मर्यो ममा त्यही खोज्दैछु । …
केही बन्ने मन त्यो मरेछ शिखर चढ्ने अहम् त्यो झरेछ
के के न थाहा छ भन्दै डुक्रने यो बुद्धि हृदयको गहिराइमा खस्दा हराएछ सुद्धी
अनि पो ब्यूँझे झल्याँस्स त्यही मेरो अहम् पो मरेछ फ्यास्स
संसारमा मलाई खाली र रित्तो पारेर जित्नुपर्ने प्रतिस्पर्धामा भागै नलिई हारेर !
अब थाहा भयो जे मर्यो त्यो’थ्यो मेरो आत्माभिमान
अनि सँगसँगै व्यर्थ हुँदै गयो क्षणिक मानसम्मान ।
तर डर छैन अब मेटिए पनि मेरो अस्तित्व
केही नहुनुमै केही हुनु रहेछ जानेँ पहिलोपल्ट ।
म त पहिल्यै हारिसकेँ अब कसले मलाई हराउँछ
जो जित्ने कला जान्दैन ऊ मात्र हारसँग डराउँछ ।
म त पलपल मर्दैछु अब कसले मलाई मार्न सक्छ
आफ्नै मृत्यु देखेको म बरु मृत्यु मसँग हार्न सक्छ ।
जीवन रहस्यमा तिरोहित गरिदिएँ मेरो बोझ मेरो ज्ञान
बस् ! थाहा छ अब यही थाहा छैन अरु केही सिवाय मेरो भित्री मौन ।
यही मौनतामा नितान्त एक्लै डुब्दैछु छोड्दै आफूलाई
संघर्ष छैन केही बन्ने जे हुँ जस्तो हुँ स्वीकार्दै आफूलाई ।
यही आत्मस्वीकृतिमा परमानन्दको झल्को छ थोरै भए पनि
फैलिँदैछु सारा अस्तित्वमा स्वयंमा केन्द्रित हुँदै गइरहे पनि ।
मृत्यु त भयो ! तर अब प्रेम छ शाश्वत रूप धरी
जसको आलोकमा म बाँचिरहेछु क्षणक्षण मरीमरी ।।